सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु

चितवन, असोज २८ । अविनाश ह्याचरी प्रालिले चितवनमा तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ । यसअघि यहाँका स्थानीयबासी सुलीको दुर्गन्धका कारण आन्दोलित बनेका थिए ।

जर्मनी प्रविधि नेपालमा भित्र्याएर ह्याचरीले कुखुराको सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गर्न थालेको हो । यस मललाई केही दिनमानै बजारमा ल्याउने बताइएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका पोल्ट्री फार्ममा उपकरण जडान गरिएको हो । विष्टले भरतपुर महानगरपालिका–१६ को शरणपुर, वडा नम्बर १८ को गाँजीपुर र नवलपुरको बेल्डियामा रहेका कुखुरा फार्ममा ती उपकरण जडान गरिएको जानकारी दिएका छन् ।

पहिलो चरणमा कुखुराको सुलीलाई खोरबाट प्रशोधन केन्द्रमा पु¥याएर सुकाएर गन्ध हटाइने विष्टले बताए । उक्त पश्चात् सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल बनाइन्छ । उत्पादित मललाई प्याकेजिङ गरी कृषक कहाँ पु¥याउने लक्ष्य राखिएको छ । यो मल विशेष गरी केरा, चिया र अलैँची खेतीमा प्रयोग गरिने उनले बताए ।

यसरी प्रशोधन गरिएपछि वातावरणमा समेत असर नहुने गरी त्यसको गन्धलाई समेत हटाएर बाहिर ल्याइने उनको भनाइ छ । अहिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सुली व्यवस्थापन निकै कठिन हुने गरेको भन्दै उनले यो प्रविधिबाट राहत महसुस हुने बताएका छन् । ह्याचरीका तीन स्थानमा रहेका फार्ममा दैनिक तीन÷तीन ट्र्याक्टर सुली उत्पादन हुँदै आएको छ । गाँजीपुरमा एक लाख लेयर्स, शरणपुरमा ६० हजार लेयर्स प्यारेन्ट र वेल्डियामा ९० हजार ब्रोइलर प्यारेन्ट रहेका छन् । त्यसबाट दैनिक २० देखि ३० टन प्रशोधित मल उत्पादन हुने विष्टले स्पष्ट पारेका छन् ।

यस प्रशोधन उपकरणले दैनिक १५० टनसम्म मल उत्पादन गर्नसक्ने उनले जिकिर गरे । विष्टले नेपालमा पहिलोपटक भित्र्याइएको उपकरण रु १५ करोडमा जडान गरिएको जानकारी दिएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त प्रविधिको गाँजीपुरमा रहेको उपकरणबाट उत्पादन थालनीको औपचारिक शुभारम्भ सोमबार साँझ गरेकी हुन् ।