काठमाडौं, कात्तिक ३ । यस वर्षको भाइटीकाको शुभ साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । अध्यक्ष प्राडा रामचन्द्र गौतमले तिहारका विभिन्न पर्वको निर्णय गर्दै समितिले भाइटीकाको साइत सार्वजनिक गरेका बताएका छन् । भाइटीकाको साइत कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे उत्तम हुने उनले बताएका छन् ।
समितिले कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको जानकारी गराएका छन् । साइतमै टीका लगाउनुपर्ने राज्य सञ्चालकले जिकिर गरेका छन् । दिनभर टीका लगाउन सर्वसाधारणका लागि भने कुनै समस्या छैन । यमपञ्चक यस वर्ष कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिने परम्परा छ । कात्तिक ९ गते शनिबार काग तिहार, धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
समितिले भाइटीकाकै दिन कात्तिक १२ गते यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि जानकारी गराएको छ । अध्यक्ष गौतमले प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको स्पष्ट पारेका छन् । त्यही दिनदेखि नेपाल संवत् ११४० पनि शुरु हुन्छ ।
कात्तिक १२ गते नै भाइपूजा र नेवारी भाषामा किजापूजा पनि गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको भनाइ छ ।