उम्मेदवार टुङ्गो लगाउँन कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउनका लागि आज बोलाएको पदाधिकारी बैठक बस्ने क्रममा छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेबाट शुरु हुने पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाउने जनाइएको छ ।

उपनिर्वाचनमा जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट सिफारिस भई आएका नामावलीउपर कांग्रेस पदाधिकारी बैठकले यसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विधानअनुसार पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको थियो । स्थानीय तहका सदस्यमध्ये भने अधिकांश स्थानमा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस भई आएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते र स्थानीय तहका सदस्यका लागि भने कात्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।