सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो अझै बढ्न सक्ने अनुमान

काठमाडौँ, कात्तिक १७ । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले गराएका छन् । केही शवहरु खोलाले बगाएको उनको भनाई छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने बताएका छन् ।

प्रहरी नायब उपरीक्षक काफ्लले अहिले उद्धार कार्य जारी रहेको जनाएका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको बताएका छन् । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।