काठमाडौं, कार्तिक १८ । चालकको लापरबाहीका कारण कयौं मानिसहरु अकालमा नै ज्यान गुमाउन बाध्य हुन्छन् । सवारी साधन चलाउँदा चालकले क्षणिक फाईदालाई मात्र ध्यान दिँदा चालक स्यंमलाई पनि असर पर्छ भन्ने कुराको जानकारी हुँदा हुँदै पनि लापरबाही गर्नु राम्रो पक्ष होइन् ।
सरकारले दिनहुँ जस्तो घट्ने यस्ता घटनाको गहिरो अध्यायन गरेर दोषी उपर कडा भन्दा कडा कार्वाही नगरुन्जेल दुर्घटनामा न्युनिकरण नआउने पक्का छ । आईतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको काहाली लाग्दो घटना पनि चालककै लापरबाहीका कारणले भएको घाइतेले बयान दिएका छन् ।
सोही दुर्घटनामा परि घाईते भएका घाईतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन् । सभापति देउवाले सोमबार विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सभापति देउवाले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन् । उक्त अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत रहेको जनाइएको छ । सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भइ सकेको छ भने दर्जनौँ यात्रु घाइते भई उपचार गराइ रहेका छन् । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनामा धेरै यात्रुको चाप र चालकको लापरबाही दुबै देखिएको स्थानियहरुको भनाई छ ।