रुपन्देही, कात्तिक २० । राजस्व कार्यालयबाट रुपन्देहीको बुटवलस्थित आन्तरिक व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा दिनानुदिन बृद्धी भएको छ ।
प्राप्त जानकारी अनुसार कार्यालयले अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको पाइएको छ । आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म सो सङ्ख्यामध्ये झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको जानकारी दिएका छन् ।
व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेमा अधिकांश सरकारी कर्मचारी भएको जानकारी पाइएको छ । व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या विसं २०७६ असार मसान्तसम्म ३१ हजार ६६८ रहेको छ । यसलाई व्यवस्थापन गर्न सरकारले खोजेकाले पनि प्यान अनिवार्य भएको उनले बताए । व्यावसायिक गर्नका लागि व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या पनि दिन दिनै बढ्दै गएको छ ।
हालसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । चालू आव २०७६÷०७७ को कात्तिक १५ गतेसम्म सोही सङ्ख्यामध्ये चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । ४७ हजार २४० ले विसं २०७६ असार मसान्तसम्म व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।
मूल्यअभिवृद्धि कर (भ्याट) मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने विसं २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । हालसम्म भ्याटमा दर्ता गराउनेको सङ्ख्या सात हजार ३६९ रहेको जानकारी पाइएको छ । स्थायी लेखा नम्बर (प्यान) आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने प्रष्ट पारिएको छ ।