आज नेपाल र म्यान्मा मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं, कात्तिक २१ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्ने भएको छ । नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे खेल शुरु हुनेछ । नेपालले म्यान्मासँग यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा रहेको थियो । नेपाल म्यान्मासँग ३–० गोल अन्तरले सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा पराजित भएको थियो ।

विश्वकप छनोटका अनुसार नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । नेपालले यसअघि विश्वकप छनोटमा खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा विजय हुने सकेको थिएन । नेपाल ७–० गोलअन्तरले यसअघि कुवेतसँग अवे खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । समूह एफमा रहेको म्यान्माले यता ३ खेल खेलिसक्दा कुनै अङ्क जोड्न सकेको छैन । यही कात्तिक २८ गते म्यान्माले घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।