काठमाडौं, कात्तिक २१ । एकआपसका ज्ञान आदानप्रदान गर्न पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा क्षेत्रीय बैठक प्रारम्भ भएको छ । नेपालमा पहिलोपटक आयोजत नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको संयोजनमा उक्त दुईदिने बैठकमा नेपालसहित नेदल्याण्ड, भारत, भियतनाम, बङ्गलादेश, भूटानको सहभागिता रहेको छ ।
सहभागी देशले बैठकमा वातावरणलाई असर नपु¥याइ बीउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जानकारी पाइएको छ । साथै बीउ उद्योगका अवस्था तथा बीउ उत्पादन गर्ने कृषकका क्षमता विकासका विषयमा पनि विभिन्न बैठकका कार्यसूची रहेका छन् ।
बैठकको शुभारम्भ गर्दै कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले खाद्य सुरक्षा बढाउँदै भोकमरी अन्त्य गरी दिगो विकासका लक्ष्य पूरा गर्न मन्त्रालयले नीति बनाई लागू गरेको जानकारी दिएका छन् । उनले स्थानीय जातको बीउ लोप हुन नदिन र आयातित बीउको जथाभावी प्रयोग हुन नदिन सरकार सचेत रहेको स्पष्ट पारेका छन् । स्तरीय बीउमा कृषकको पहुँच बढाउन सामूहिक प्रयास गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
राम्रो बीउको अभावले कृषकले समस्या व्यहोर्नु परिरहेको चर्चा गर्दै आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठकले स्तरीय बीउ उत्पादनमा सरकारी लगानी बढाउनुपर्ने समेत बताएका छन् । नेदल्याण्डका विज्ञद्वय इगो फरोगान र एल्स फान डेलले बैठकको उद्घाटनसत्रमा कृषि उत्पादन बढाउन गुणस्तरीय बीउमा लगानी बढाउन सुझाव पनि दिएका छन् ।