काठमाडौँ, भदौ १३ । संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन तोकिएको समयमा नै हुने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २१औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र संघको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन हुने बताए । उनले संविधान गतिशील भएकाले आवश्यक अनुसार संशोधन हुने कुरामा जोड दिए ।
संविधानमा केही त्रुटि रहेकाले आवश्यकता अनुसार संशोधन गर्दै जाने बताउँदै संविधान कार्यान्वयन भएपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताए । शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिँदै उनले शिक्षामा आयात र व्यापारमा निर्यात गर्नुपर्ने बताए । मन्त्री बस्नेतले विदेशिएका विद्यार्थीहरुलाई नेपाल फर्काउन सके नेपालको भविष्य सुन्दर हुने सुझाव दिएका छन् ।
नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चेम्बर अफ कमर्शका उपाध्याक्ष ज्ञानेन्द्ररत्न तुलाधार, नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेशमा अध्ययन गरेर बसेका नेपाली जनशक्तिलाई नेपालमै आएर काम काम गर्ने वातावराण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।