डाक्टर केसीलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं, कार्तिक २५ । विगत एक सातादेखि डडेल्धुरामा सत्रौं अनसनमा रहेको डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ गएको छ । डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गएका समचारहरु एक पछि अर्को गर्दै सम्प्रेशण हुन थाले पछि सरकारको त्यस तर्फ ध्यान पुगेको स्रोतको दावी छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको जनाएका छन् । यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जानकारी गराएको थियो ।

केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालले जनाए पछि सेनाको हेलिकप्टर लिन पुगेको जनाइउको छ । अस्पतालले केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको बताएको छ ।

अस्पतालबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ ।

केसी काठमाडौं आउनका लागि तयार नरहेको भए पनि सो अस्पताल प्रशासनले भने उनको जिवन रक्षका लागि काठमाडौं पठाउनै पर्ने बताएको छ । प्रशासनले डाक्टर केसीलाई काठमाडौं पठाउन पहल गरे पनि उनले अस्विकार गर्दा केही समस्या देखिने आकलन गरिएको छ ।