काठमाडौं, कार्तिक २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्र विष्टले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गरेका छन् ।
सहकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने अभियान चलाएको स्पष्ट पार्दै मन्त्री विष्टले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गर्नु भएकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको शुरुआत गरिएको जानकारी गराएका छन् । उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम गर्ने कर्मचारीको भविष्य सुरक्षित गर्न सहकारीलाई आबद्ध गराउन थालिएको बताएका थिए ।
साना किसान तथा सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक डा शिवराम कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले आफूहरु सहभागी हुन तयार रहेका जानकारी गराएका थिए । उनले आफुहरुलाई पहिला नै सञ्चय कोषमा राखिएको आफूहरुको कोषका बारेमा स्पष्ट गराउनुपर्नेमा जोड दिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) अध्यक्ष डिबी बस्नेतले सामाजिक सुरक्षा कोषले सहकारीमा काम गर्ने कर्मचारीले पनि निवृत्तिभरण पाउँछन् भन्ने गराउने भएकाले आबद्ध हुने बताएका थिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोषमा आबद्ध हुन आफूहरुले खोजे पनि केही प्रावधानका कारण हुननसकेको भन्दै ती प्रावधान सुधार गर्नुपर्ने औंल्याएका छन् । सरकारले गत वर्ष मङ्सिर ११ गते सामाजिक सुरक्षा कोष घोषणा गरेर यही साउन १ गतदेखि देशभरि लागू भएको हो । मुलुकभरि करीब ३५ हजार सहकारी रहेका छन् । कोषमा अहिले पाँच सय सहकारी सूचीकृत भइसकेका छन् ।
कोषमा सूचीकृत भएपछि ११ प्रतिशत रोजगारदाताबाट र २० प्रतिशत रोजगारदाता संस्थाबाट रकम जम्मा हुने गर्दछ । कोषमा सूचीकृत हुनका लागि आगामी मङ्सिर १४ गतेसम्म समय तोकिएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषमा अहिले १० हजार संघ संस्थाका करीब एक लाख आठ हजार सूचीकृत भएका छन् । ज्ञवालीले सबै सहकारी संस्थालाई कोषमा आबद्ध हुनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन् ।