नारायणगढ–मुग्लिन सडक खण्डमा दिनभर यातायात अवरुद्ध हुने

चितवन, भदौ १५ । सडक भासिएका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा आज दिनभर यातायात अवरुद्ध हुने भएको छ ।

पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवका अनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको भएकाले यातायात संचालनमा समस्या आएको छ ।

एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए । सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।

सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सो सडकका विभिन्न पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए ।