काठमाडौँ, भदौ १५ । शिक्षाको गुणस्तरका लागि प्रत्येक सामुदायिक विद्यालयहरुमा ई–पुस्तकालय स्थापना गरिने भएको छ । १० औं पुस्तकालय दिवसका अवसरमा आज शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताए ।
प्रत्येक विद्यालयमा पुस्तकालय हुन जरुरी भएकाले एक विद्यालय एक पुस्तकालयको अवधारणा अनुसार नै ई–पुस्तकालय बन्ने राज्यमन्त्री अधिकारीले जानकारी दिए । निमित्त शिक्षा सचिव डिल्ली रिमालले मन्त्रालयले चाँडै पुस्तकालय नीति ल्याइने र पुराना पुस्तकलाई बाहिर निकालेर पढ्ने ठाउँको खोजीमा आफूहरु रहेको बताए ।
सो कार्यक्रममा यस वर्षको उत्कृष्ट पुस्तकालय पुरस्कार ज्ञान विकास सामुदायिक पुस्तकालयलाई प्रदान गरेको छ । यसैगरी उत्कृष्ट पुस्तकालय समाजसेवी पुरस्कार भोलानाथ शर्मालाई, पुस्तकालयसेवी पुरस्कार सूर्य क्षेत्रीलाई, पुस्तकालय असलमित्र पुरस्कार दिनेशराज पन्तलाई प्रदान गरिएको छ । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ देशभरि आज पुस्तकालय दिवस पनि मनाइयो ।