ललितपुर, मंसिर ३ । ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी आउने बनाउनका लागि कामलाई तिव्रता दिएको छ । त्यससम्बन्धि योजना अघि बढाएको जानकारी गराउँदै महानगरले ढुंगेधाराको संरक्षणका लागि यस्तो योजना अघि बढाएको जनाइएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत उक्त योजना अघि बढाएको जानकारी गराएका छन् । सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य रहेका ढुंगेधाराहरुमा पानी झारेर सहरलाई सुन्दर बनाउन योजना अनुरुप कामलाई तिव्रता दिइएको मेयर महर्जनले बताएका छन् ।
नगरप्रमुख महर्जनले ललितपुर महानगरको वडा नं ६ र १७ मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने जनाएका छन् । वडा नं ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी रहेका छन् ।
ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको जानकारी गराएका छन् । उनले भने, मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ । यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ । नाय्ख्य ललितपुर महानगरको वडा नं १५ मा पर्छ ।
जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताए । उनले मृततुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जिवित गर्नुपर्ने उनले बताए । टिकाभैरवमा रहेको राजकुलो सुनाकोठी सम्म व्यवस्थित छ । उनले भने, ‘राजकुलोलाई ल्याउन सके ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन् । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारमा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन ।
महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको स्पष्ट पारेका छन् । उनले भने, यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जि्वित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ ।
महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने बताए । उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने बताए । उनले भने, ‘ यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्छ । ’
कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए । उनका अनुसार कानुन भए त्यसकै आधारमा दण्डीत र पुरस्कृत गर्न सकिने बताए । वडानं १३ का अध्यक्ष गणेश केसीले ढुंगेधारा संरक्षणको लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने बताए । अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।