काठमाडौं, मंसिर २१ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेका हुन् ।
नयाँ सरकार आएको २१ महिना पुग्दा २१ वटै काममा असफलता हात पारेको कांग्रेसको ठहर छ । ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ भन्ने मुल नाराका साथ २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन् ।
कांग्रेसले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तारलाई उठान गरिएको छ । प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिका बारेमा विस्तृत उल्लेख गरिएको छ ।
त्यस्तै चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, वालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफलता भएको समेत उल्लेख गरिएको छ ।