भीमदत्तनगर, भदौ १६ । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने जनाएका छन् ।
आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलहरुसँग सल्लाह भइरहेको बताएका छन् । उनले भने–सबै पार्टीहरुसँग सल्लाह भएको र प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । निर्वाचन सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो ।
आफ्नो भारत भ्रमण सफल रहेको भन्दै उनले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए । भारत भ्रमण सफल रहेको बताउँदै देउवाले सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएको बताएका छन् ।