काठमाडौं, मंसिर ५ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नका लागि पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोक लगाएको छ ।
उपनिर्वाचनमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ बाट वडाअध्यक्ष पदको उम्मेदवार बनेकाहरुलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो ।
सशस्त्र प्रहरी निरीक्षक महतका अनुसार उक्त वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको हो । आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको सशस्त्र प्रहरी निरीक्षक महतले जानकारी गराएका छन् । अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्नेे गरेको बताएका छन् । निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ ।
मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रुपमा लिएका छन् भने उम्मेदवारहरुले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वा्चित भएका वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको छ ।
महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ सखुवाप्रसौनी वडा नं ५ मा पर्ने र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।