कास्की, मंसिर ५ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले मंसिर १४मा हुने उपनिर्वाचनको परिणाम कांग्रेसका पक्षमा हुने जीकिर गरेका छन् ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलो कार्यक्रममा सहभागीता जनाउने क्रममा नेता थापाले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण कांग्रेसप्रति आकर्षण बढिरहेको दाबी गरेका छन् ।
सरकारले जनतालाई चाहिने भन्दा वढि आश देखाएर काम केही गर्न नसकेको आरोप लगाउँदै नेता थापाले देश र जनताचका लागि काम गर्ने पार्टी भनेको कांग्रेसमात्र भएको बताएका छन् । पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै नेता थापाले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक कांग्रेसलाई हुने विश्वास व्यक्त गरेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कांग्रेससँग जनताले धेरै भरोसा गरेको जनाउँदै कर वृद्धि, महङ्गी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको बताएका छन् ।