अचारसंहिता उल्लङ्घन गर्नेलाई मतदाताले दण्डित गर्ने : नेता कोइराला

पर्सा, भदौ १६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन शुरु भएसँगै प्रचार प्रसारको क्रममा विभिन्न राजनीतिक दलबाट भएका अचारसंहिता उलङ्घनका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलङ्घन गर्नु दुखद् कुरा भएको प्रतिक्रिया व्यक्त गरे । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले वीरगन्ज महानगरपालिकाको छपकैयामा आज आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी भएका नेता कोइरालाले निर्वाचन अचारसंहिता उलङ्घन गर्नेलाई मतदाताले दण्डित गर्ने बताए ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहिताको पूर्णपालना हुनु सबैको हितमा रहेको भन्दै उनले अचारसंहिता उलङ्घन गर्नेलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने कुरामा जोड दिए ।