सरकारले कर नतिर्नेलाई कारवाही गर्ने

काठमाडौं, मंसिर ६ । मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार संघ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार राजधानीमा आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा रामप्रसाद मैनालीले प्रचलित कानूनअनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड दिएका छन् । कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्ने तयारीका साथ अघि बढेको जनाएका छन् ।

नेपाल व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताएका छन् । उनले भने, व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुप¥यो ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनृतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार संघले व्यापारीको हकहितमा काम गर्नाका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको संघका महासचिव कृष्ण अधिकारीले जानकारी गराएका छन् ।