पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आइतबार देशैभर प्रदर्शन

काठमाडौं, मंसिर ६ । पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै नेपाल पत्रकार महासंघले ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा २०७६ मंसिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने भएको छ ।

मुलुकमा पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने वातावरण अझै सृजना नभएको भन्दै महासंघले प्रदर्शन गर्ने तय गरेको महासंका महासचिब रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा भनिएको छ, मुलुकमा पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्यून रहेको छ । कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समुह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकोले कानुनी दायरामा ल्याउन सकिएको छैन ।

राज्य पक्ष पनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयामा गम्भीर भएको नपाइएको महासंघको ठहर छ । जसले गर्दा पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका छन् ।

पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिका लागि २०७६ मंसिर ८ गते आइतबार राजधानीको हकमा काठमाडौंको नया“बानेश्वर चोकमा अपरान्ह ४ः०० बजे र अन्य सातै प्रदेशको हकमा तोकिएको स्थान र समयमा सक्रिय रुपमा सहभागी भइदिन पत्रकार, नागरिक समाज, मानवअधिकारवादी तथा प्रेस स्वतन्त्रताका पक्षधर सबैको उपस्थितीका लागि महासंघले अपिल गरेको छ ।