महिला उत्थानका लागि पहल गरिने

ललितपुर, मंसिर ८ । महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जाहेर गरेका छन् । उनले उक्त कार्यक्रमले विशेष गरी महिलाका अधिकार, कर्तव्य र दायित्वबोध गराउने जनाएका छन् ।

‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आज शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेता वृद्धि गर्ने जानकारी गराएकी छिन् ।

सोमबारदेखि मङ्सिर २४ गतेसम्म चल्ने सो अभियानमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई महिला अभिमुखीकरणलगायत सकारात्मक सोच र आत्मरक्षाको तालीम पनि दिइने कार्यक्रम छ ।