काठमाडौं, मंसिर ९ । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने तयारीलाई तिव्रता दिइएको जनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बताएका छन् ।
भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले परीक्षणस्वरुप उक्त कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने योजना सहित उडान भर्ने तयारी भएको जनाएका छन् ।
निर्देशक बस्नेतका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने मुख्य उद्देश्य अनुरुप प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने छ । शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने योजना रहेको बस्नेतले बताएका छन् ।
समृद्धिको अभियानमा अघि बढेको सरकारले गरेका हरेक कामबाट आम नागरिकलाई लाभ मिल्ने खालका नै हुने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । उनले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत भएको जनाएका छन् ।
मुख्यमन्त्री राईले सेवालाई दिगो र प्रभावकारी बनाउनका लागि प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौँदेखि पोखरा सेवालाई सीधा सेवा शुरु गर्नसके सेवाग्राही लाभान्वित हुनेमा आफु विश्वस्त रहेको जनाएका छन् । मन्त्री कार्कीले यसबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पुग्नका लागि सहज हुने भएकाले यसतर्फ कम्पनीको ध्यान पुग्नुपर्ने औंल्याएका थिए ।
सोही प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले अहिले हरेक नागरिकको आय वृद्धि भइरहेकाले बुद्ध एयरले डराउनु पर्ने स्थिति नरहेको स्पष्ट पारेका थिए । उनले भारतको विहार प्रान्तको पटनामा मात्र विमानस्थल भएकाले भारतीय नागरिकले पनि प्रशस्त लाभ लिन सक्ने जनाएका थिए ।
बुद्ध एयरले दिने सो सेवाबाट आम नागरीकले सहज रुपमा सेवा लिन सक्ने भएकाले सो सेवालाई निरन्तरता दिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।