सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन् : वरिष्ठ नेता पौडेल

दाङ, ९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै अघि बढेको आरोप लगाएका छन् । रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण रहेको बताउँदै राणा शासनकै पद चिह्नमा हिँडेर यस सरकारले देशलाई गलत बाटोमा लान खोजिरहेको आरोप लगाएका छन् । उनले भने, यस सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको छ ।

वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको जुट्नुले पनि यस कुरालाई पुष्टि गर्छ । वरिष्ठ नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको स्पष्ट पारेका छन् । जनतालाई देखाएका सपना पुरा गर्न नसकेको सरकारले फेरी नयाँ सपना देखाउन खोज्नु गलत भएको उनको भनाई छ । ओली नेतृत्व सरकरले आफ्नो सत्ता र शक्तिको दुरुपयोग गर्दै हरेक क्षेत्रमा एक छत्र राज गर्न खोजेको आरोप लगाउँदै नेता पौडेलले हरेक क्षेत्रमा भ्रष्टाचार निमूर्ल गर्ने भन्दै भ्रष्टाचारलाई बढवा दिएको बताएका छन् ।

द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले भने, हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ । उनले भने, यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गरिरहेको छ ।

विभिन्न घटनामा संलग्न दोषीलाई जोगाउने काममा सरकार सक्रिय रहेको बताउँदै नेता पौडेलले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको बताएका छन् । नेपाली कांग्रेसको पक्षमा जनता देखेपछि सरकार आतिएको बताउँदै नेता पौडेलले यस उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न आम मतदातालाई आग्रह गरेको छन् ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताएका छन् । दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुने भन्दै नेता गिरीले कांग्रेसले गरेका राम्रा कामको जस लिन कम्युनिष्टहरु खप्पिस रहेको जनाएका छन् । कांग्रेसलाई गाली गर्ने कुनै बाहाना नपाएको अहिलेको सरकारले आफ्ना गल्ति ढाकछोप गर्नका लागि कांग्रेसको नाम बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।