पोखरा, मंसिर ९ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा नेकपाका नेता कार्यकर्तालाई कांग्रेसको विरोध गर्नको साटो नरेन्द्र मोदीसँग जवाफ माग्न सुझाव दिएका छन् । कांग्रेस प्रवक्ता शर्माले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी सभापतिले दिएको अभिव्यक्तिलाई नेकपाका कार्यकर्ताले अतिरन्जित बनाउन खोजेको बताउँदै देउवाको कुरा आधिकारिक भन्दा पनि शंका मात्र रहेको स्पष्ट पारेका छन् ।
प्रवक्ता शर्माले सरकारलाई प्रश्न गर्दै भने, बालुवाटार बैठकमा सहमति भयो, प्रधानमन्त्रीलाई पहल गर्न भनियो, तर समय गएको निकै भयो, कम्तिमा प्रमुख प्रतिपक्षी दलका नेताले राजदूतलाई फोन गरेर नेपालको भूमि हो यो, तपाइँले जारी गरेको नक्सामा आपत्ति छ भन्नुभयो । तर, त्यै लैनचौर नजिकै रहेको परराष्ट्र मन्त्रालयले बोलाएर छलफल गर्यो ? सरकारले त्यो गरेन ।
उनले भारतको प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिएको कुरा नेपालको मिडियामा छ्याप्छ्याप्ती विज्ञप्ति आए पनि कालापानीको विषयमा प्रधानमन्त्रीको तर्फबाट कुनै विज्ञप्ति नआएको प्रति आक्रोश पोखेका छन् । उनले भने , यतिका समय गैसक्यो, मोदीको नाममा आजसम्म एक टेलिफोन काठमाडौंबाट गएको छैन, सरकारले गर्ने भनेको कुटनीतिक पहल कहाँ पुग्यो त ? त्यसैले कांग्रेसको सभापतिले बोल्दै गर्दा आशंका राख्नुभयो, कतै भारतसँगको सहमतिमा पो भएको हो कि ? यो उहाँले आशंका राख्नुभएको हो । उहाँको अभिव्यक्तिमा पार्टीको ठहर होइन अनि उहाँको पनि ठहर होइन ।
सरकारले गर्ने काम अरुले के भन्यो के भनेन भन्दा पनि आफुले गर्ने कामलाई अर्थपरक बनाउने नै रहेको प्रवक्ता शर्माले बताएका छन् । उनले सरकारले तीन दिन भित्रै नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सके मात्रै देशप्रति देखाएको चिन्ता वास्तवमै चिन्ता भएको पुष्टि हुने बताएका छन् ।
नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारले अरुलाई विभिन्न आरोप लगाउँदै समय खर्च गर्न नहुने उनको भनाई छ । प्रवक्ता शर्माले सरकारले जति सक्दो सीमाको विवादलाई मिलाएर नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न सके सबै विवादको अन्त्य हुने बताएका छन् ।