जानुका बराल
काठमाडौं, मंसिर १२ । यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरुबिच घमसान भिडन्त हुने पक्का भएको छ । ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाले उम्मेदवारी दिएसँगै उम्मेदवारहरु मैदानमा दिन रात नभनी चुनावी अभियानमा दौडधुपमा रहेका छन् । ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएसँगै तातेको चुनावी माहेलले उम्मेदवारहरुको भन्दा वढि पार्टीका शिर्ष नेताहरुको प्रतिष्ठाको लडाई उपनिर्वाचन भएको चुनावी सभा समारोहले छर्लङ्ग बनाई दिएको छ ।
सत्ता र शक्तिमा भएकाहरु सत्ता र शक्तिका चर्का कुरा गर्ने र सत्ता र शक्ति नभएका प्रतिपक्ष दलहरु पनि सरकारको कर्तुत बाहिर ल्याउने क्रममा के बोले भन्ने पत्तै नपाउने । सत्ता पक्ष र प्रतिपक्षका नेताले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बोलेका कुराले यस बेला सञ्चार माध्यममा राम्रै स्थान पाएको देख्न सकिन्छ । तर ती पार्टीका शिर्ष नेताले बोलेका कुराहरुले देशको अवस्थालाई कत्तातिर धकेल्दैछ भन्ने कुरा प्रति कसैको चासो नजानु दुःखद पक्ष बन्न पुगेको छ ।
शनिबार पोखरामा आयोजना गरिएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा छापेको आरोप लगाए । सभापति देउवाले दिएको यस अभिव्यक्तिले देशमा फरक तरङ्ग पैदा भयो । उनको भनाईलाई विरोध र समर्थन गर्नेको भिड पनि राम्रै छ । कांग्रेसका कार्यकर्ताले सभापति देउवाले बोलेको कुरा सोह्रै आना सही भन्दै चर्चा गरेका छन् भने सत्ता पक्षका नेता कार्यकर्ताले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति भन्दै गाली गलौजमा उत्रिएका छन् ।
कांग्रेसले कम्युनिस्ट हारे लुटतन्त्र र त्रासबाट मुक्ति मिल्छने भन्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएको छ । उता दुई तिहाइको सरकार रहेको नेकपा कांग्रेसको हार निश्चित रहेको दावी गर्दै विभिन्न आरोप लगाउँदै चुनावी अभियानमा दौडिरहेको छ । कालापानी र लिपुलेकको नक्सा आफूतिर पारेर भारतले नक्सा सार्वजनिक गरेपछि अहिले सर्वत्र सीमाका विषयमा विरोध भइरहेको छ । यस्तो अवस्थामा पनि सरकारले कुनै ठोस पहल नचालेको र चुप बस्नुको पछाडि प्रधानमन्त्री ओलीकै हात रहेको दाबी देउवादे गरेका छन् ।
सभापति देउवाले आफु प्रधानमन्त्री भएकै बेला महाकाली सन्धि भएको बताउँदै महाकाली सन्धिमा महाकालीलाई सीमा नदी मानेको बताएका छन् । महाकालीपूर्वको कालापानी र लिपुलेक भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको आरोप समेत सभापति देउवाले लगाएका छन् । उनले नेपालको एक इञ्च जमिन पनि जानु हुँदैन भन्दै त्यसको लागि खबरदारी गर्नुपर्ने औंल्याएका छन् । उनले दिएको यस अभिव्यक्तिले सत्ता पक्षका नेता निकै आक्रमक तरिकाले देउवाको विरोधमा विभिन्न अभिव्यक्ति दिँदै आएका छन् । त्यसको भोली पल्टै पोखरा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शेरबहादुर देउवाको अभिव्यक्तिमाथि कडा टिप्पणी गर्न भ्याए । उनले उल्टै सभापति देउवालाई नै आरोप लगाउँदै भनेका थिए, नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ? चुनावी हार वा जितलाई देशभक्तिको प्रश्नमा नजोड्न समेत उनले सुझाव दिए ।
त्यस्तै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की–२ का उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर कटु टिप्पणी गरेका छन् । उनले गरेको टिप्पणीबाट के पुष्टि हुन्छ भने उनी पनि चुनावी शैलीमा नै मैदानमा उत्रिन चाहन्छन् । उनले कांग्रेस नेता गगन थापाले दिएको अभिव्यक्तिलाई खण्डन गर्ने शैलीमा भनेका छन्, “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बूढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ? उनले गरेको टिप्पणीले त झन सत्ता पक्षका नेतालई झन चुनाव जित्नै पर्ने चुनौतिको सामना गर्नुपर्ने पुष्टि हुन्छ ।
राष्ट्र र राष्ट्रियताका चर्का कुरा गर्ने हाम्रा शिर्ष नेताहरुका मुखबाट निश्कने यस्ता शव्दले कहाँ पुर्यायो राष्ट्र र राष्ट्रियता ? देशको सीमामा देखिएको विवाद सुल्झाउन सबै एक जुट भएर अरुलाई दरो जवाफ दिनु पर्ने अवस्था आफु आफै लडेर पनि कही बन्छ देश अनि बाँकी रहन्छ राष्ट्रियता ? नेपाल रहे मात्र हामी रहन्छौं देशै नरहे को रहन्छ । भाई फुटे गवार लुटे भने झै देश जोगाउने समयमा देश टुक्राउने अभिव्यक्ति कसैका लागि पनि मान्य हुने छैन । सबैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्दै देशको सीमा बचाउनु पर्ने बेलामा देशको सीमाको विषयलाई नै चुनावी मसला बनाउनु साह्रै झुर कुरा हो, गैरजिम्मेवारपूर्ण कुरा हो, यस्ता विषयलाई चुनावको मसला कुनै राजनीतिक दलले पनि बनाउनु हुँदैन । उपनिर्वाचनको संघारमा आईपुग्दा चुनावी एजेण्डा भन्दा बढि राजनीतिक प्रतिशोध मौलाएको पाइयो ।
राजनीतिक दलका नेताहरुबिचको दोहोरीले देशको भविष्य अन्धकार तर्फ धकेल्ने त हैन भन्ने ठूलो प्रश्न खडा भएको छ । देश र जनताका लागि निर्वाचित भएका सांसद एवम् मन्त्रीहरुले दिएका अभिव्यक्तिका कारण देश र जनताको मन दुखाएको छ । आफ्नो पक्षमा मत माग्न र आफ्ना पक्षमा मतदातालाई आर्कषित गर्न अर्काको अस्तित्व नै खुइल्याउनु पर्छ भन्ने कुरा कदापी कसैलाई मान्य हुँदैन । चुनाब भनेको देश र जनताका लागि जसले काम गर्न सक्छ, जनताका पक्षमा सधै जो लडि रहन्छ, पद र प्रतितष्ठा भन्दा माथि रहेक सधै जनताका पक्षमा जसले काम गर्छ उसैले चुनाव जित्नु पर्छ । कसैको सहानुभुति र दयाले पाएको भोटबाट निर्वाचित व्यक्तिले आम नागरिकको पक्षमा काम गर्नै सक्दैन । आम नागरिकको पक्षमा उस्ले काम गर्छ जसले आफ्नो जिवन नै आम नागरिकलाई सुम्पिएको हुन्छ ।
क्षणिक लाभका लागि राजनीति गर्ने व्यक्तिलाई जनताले चुने भने भोली तीनै जनता पछुताउनु पर्ने यथार्थलाई कसैले नकार्न हुँदैन । ४८ पदका लागि हुने उपनिर्वाचनमा आम नागरिकको भाव बुझेर काम गर्न सक्ने व्यक्तिलाई नै सबैले मतदान गर्नुपर्छ । नत्र आफुले दिएको मत आफ्नै लागि भारी पर्ने अवस्था पनि आउन सक्छ । अत यस उपनिर्वाचनमा कसैले कसैको अस्तित्वलाई समाप्त पार्ने खेलमा लाग्नुको साटो आम नागरिकका समस्यालाई पहिचान गरि समस्याको अन्त्य गर्न तिर लाग्दा नै सबैको भलो होला । उपनिर्वाचनमा चुनावी एजेण्डाको साटो नेताहरुमा राजनीतिक प्रतिशोधको भाव नबढोस् । आम नागरिकले पचाउन सक्ने अभिव्यक्ति मात्र नेताहरुले व्यक्त गर्दा नै नेताहरुलाई लाभ मिल्ला । नत्र भने आफ्नो अस्तित्वको समाप्तिको कारक आफै वन्न पर्ने दिन नआउला भन्न सकिन्न ।
साभार : लोकप्रवाह साप्ताहिक