टुँडिखेलको संरक्षण र सम्बद्र्वन गर्नु मेरो दायित्व हो : शाक्य

काठमाडौँ, मंसिर १३ । लामो सममयदेखि विवादमा रहेको टुँडिखेललाई खुला गर्नुपर्नेमा काठमाडौँ महानगरपालिकाले सकारात्मक देखिएको छ । टुँडिखेलको विषयमा लामो समयदेखि रहेको विवादका बारेमा महानगरपालिकाको आधिकारीक धारणा के हो भन्नेमा जनताहरु अन्यौलमा थिए ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै भएको धारणा सार्वजनिक गरेको छ । करीब दुई हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने भन्दै त्यस विषयमा राजनीति नगर्न समेत आग्रह गरेका छन् ।

दरबार हाइस्कूल र धरहरा पुनः निर्माण वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको जानकारी गराउँदै ती संरचनाको निर्माण पूरा हुने बित्तिकै खुलामञ्च खाली हुनेमा कुनै शंका नरहेको स्पष्ट पारेका छन् । टुँडिखेलको संरक्षण र सम्वद्र्धन आफ्नो दायित्व रहेको बताउँदै मेयर शाक्यले सो क्षेत्रलाई कसैले हडप्न नसक्ने बताएका छन् । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व मेयर शाक्यले नै गर्नुपर्ने अभियानकर्मीहरुको भनाइ छ ।

महानगरपालिका धुलो–धँुवामुक्त र हरियालीयुक्त महानगरको अभियानमा रहेको जानकारी गराउँदै मेयर शाक्यले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा महानगरले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको बताएका छन् । मेयर शाक्यले आफु मेयर पदमा निर्वाचित हुनुभन्दा अघि नै त्यहाँ बसपार्क रहेको स्पष्ट पार्दै भने, त्यहीँ बसपार्कमा अस्थायीरूपमै सामान्य मर्मत गर्दा त्यहाँ पनि महानगरपालिकाले स्थायी बसपार्क बनायो भनेर ठूलो हो–हल्ला गर्ने काम भयो ।

टुँडिखेललाई स्थायी बसपार्क बनाउने अभियानमा महानगरपालिका हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहने छैन । त्यस्तै सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले पुनःनिर्माणको सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्नेमा जोड दिएका छन् । अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हँुदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ ।