नक्कली प्रमाणपत्र बनाउने ३ जना पक्राउ

काठमाडौँ, मंसिर १३ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली प्रमाणपत्र बनाउनेलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाणपत्र फेला परेको सीआईबीले जनाएको छ । दवाडीको साथबाट विभिन्न विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि प्रहरीले उनीहरुबाट बरामद गरेको छ । प्रहरीले तोलाङ्गीको साथबाट प्रहरीले लेख्ने सिफारिस पत्र, नागरिकताको प्रमाणपत्र फेला परेको जनाएको छ । उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद गरेको प्रहरीले जनाएको छ ।