भक्तपुर १ (क) मा २२४३ मतान्तरले कांग्रेसका भँडेल विजयी

भक्तपुर, मंसिर १५ । भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकाललाई भँडेलले २२४३ मतान्तरले जित्न सफल भएका हुन् । भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी ढकालले ११ हजार २०६ मतमा चित्त बुझाउँदै हार बेहोर्नु पर्यो ।

त्यस्तै नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा प्राप्त गर्न सफल भए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

२०७४ नेकपाले जित्न सफल भएको सो क्षेत्रमा यस उपनिर्वाचनले आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्न सकेको प्रष्ट भएको छ । २०७४मा निर्वाचित लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।