धरान उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार तिलक विजयी

काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हासिल गरेका छन् ।

तिलकले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भएका छन् । तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गर्न सफल भ एभने उनका निकटतम प्रतिद्वन्दी प्रकाशले २३ हजार ९ सय १४ मतमा चित्त बुझाउनु पर्यो । औपचारीक मत परिणाम केही बेरमा घोषणा हुनेछ । त्यस्तै धरान उपमाहगरपालिका वडा नं. ७ मा नेकपाका उम्मेदवारले एक मत बढिले जित हासिल गरेका छन् ।

धरान बाहेक हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गर्न सफल भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १२ स्थानसहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षको रुमका निर्वाचित भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पदमा जितेको छ । त्यस्तै कांग्रेसले भने एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो । समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।