काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भइ सकेको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गर्न सफल भएको छ भने, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चित्त बुझाउनु परेको छ ।
समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जित्न सफल भएको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गर्दै दोस्रो स्थानमा आउन सफल भएको छ ।
यस अघि नेकपाले जितेका स्थानमा पनि कांग्रेसले आफ्नो पक्षमा जनतालाई आकृषित गर्न सकेको पाइएको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरेका थिए । २०७४ नेकपाले जित्न सफल भएको सो क्षेत्रमा यस उपनिर्वाचनले आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्न नसकेको प्रष्ट भएको छ । सो क्षेत्रको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी ढकालले ११ हजार २०६ मतमा चित्त बुझाउनु पर्यो ।
त्यस्तै यस अघि नेकपाले नै जितेको धरान उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हासिल गरेका छन् । तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गर्न सफल भए भने उनका निकटतम प्रतिद्वन्दी प्रकाशले २३ हजार ९ सय १४ मतमा चित्त बुझाउनु पर्यो । चितवनमा पनि नेकपाले जितेका वडाहरुमा कांग्रेसले आफ्नो पक्षमा मतदातालाई आर्कषि गर्न सफल भएको पाईएको छ ।
त्यस्तै समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भएका छन् । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एकजना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेको पाइएको छ ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहो¥याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट संख्या बढाएको छ । बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको संख्या थप गरेको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसंख्यकको चयन भएको आयोगले जनाएको छ ।