काठमाडौं, मंसिर १६ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् ।
सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जितेको छ ।
त्यस्तै सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भएका छन् भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाउनु परेको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।
0
Shares