ललितपुर महानगरपालिकाका सबै वडा कार्यालय अपाङ्गतामैत्री बनाउने

ललितपुर, मंसिर १७ । ललितपुर महानगरलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउन सरोकारवाला निकायहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय तहको सरकारको भूमिकामा रहेको ललितपुर महानगरले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सोमवार सरोकारवाला निकायहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ललितपुर महानगरपालिका नगरप्रमुख चिरीवावु महर्जनले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरु समस्याहरुलाई सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

प्रमुख महर्जनले भने, ‘ हामीले ललितपुर महानगरले गर्ने हरेक क्रियाकलाप अपाङ्गतामैत्री हुनै पर्छ भन्ने नीति अवलम्बन गरेका छौं । आफ्नै कार्यकालभित्र ललितपुर महानगरपालिकाका सबै वडा कार्यालयका भवनहरु अपाङ्गतामैत्री बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

सोही कार्यक्रममा बोल्दै महानगरपालिकाका उपप्रमुख गीता सत्यालले ललितपुर महानगरपालिका सधै अपाङ्गता भएका व्यक्तिहरुको साथ र सहयोगका लागि तत्पर रहेको जानकारी गराएकी छिन् । अपाङ्गताको प्रकारको आधारमा चार प्रकारमा विभाजन गरेर ललितपुर महानगरपालिकाले असारदेखि हालसम्म ३८० जनालाई परिचयपत्र उपलब्ध गराई सकेको उनले सुनाइन् ।

उपप्रमुख सत्यालले अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाअनुसार कार्यालयमा आउन नसक्नेहरुलाई घरमै पुगेर परिचय पत्र वितरण गरिरहेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई महानगरले हदैसम्मको सहयोग गर्न तयार रहेको जनाएकी छिन् । उपप्रमुख सत्यालले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनका लागि सहजीकरण गर्नका लागि आफूले सोचिरहेको जानकारी गराउँदै यस्ता व्यक्तिलाई लाभ मिल्ने कुरामा कुनै कसर महानगरले नछाड्ने बताएकी छिन् ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको धेरै समस्या रहेको र संविधानमा व्यवस्था भएअनुसार ती समस्या समाधान गर्नका लागि सरकारी संरचनाहरु अपाङ्गतामैत्री वनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने,‘जिल्लाभित्रका कुनै कार्यालयमा समस्या प¥यो वा ठगिनु भो भने मलाई भन्नुस्, त्यो समाधान गर्न म तत्पर छु ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले अपाङ्गता भएका व्यक्तिहरुको सवारी साधन पार्किङ्गको व्यवस्थापन गर्नु अति नै आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले यात्रुहरुको सहजताका लागि सवै सार्वजनिक सवारी साधनहरुमा भित्र पनि यात्रुले सहज रुपमा देख्न सक्ने गरी र नम्बर प्लेट राख्न लगाउने वताएका छन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले अपाङ्गता भएकाहरुमाथि भएको कसुरमा थप सजाँय हुने संवैधानिक व्यवस्था रहेको प्रष्ट पारेका थिए । उनले सबैको अधिकारको रक्षा गर्दै राज्यले अवलम्बन गरेको कानून अनुसार काम गर्ने जानकारी गराएका छन् । सन् १९९२ देखि प्रत्येक वर्षको डिसेम्बर ३ तारिकलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाइदैं आएको छ । ‘भविश्य पहुँचयुक्त छ’ भन्ने नाराका साथ यस वर्षको अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवस मनाइदै छ ।

नेपाल सरकारले ‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैेत्री भविष्य‘ भन्ने यस वर्षको नारा तय गरेको छ । ललितपुर महानगरपालिकाले ‘सबैको पहल, अपाङ्गतामैत्री सहर’भन्ने स्थानीय नारा तय गरेर विभिन्न कार्यक्रमहरु गरिरहेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर यही मंसिर १३ गते ह्लीलचियर बास्केटबल, दृष्टिविहिन क्रिकेट, ह्वीलचियर गोल वल सहित चार वटा खेल समेत प्रदर्शन गरेको थियो ।

सोही क्रममा ललितपुर बारका निवर्तमान अध्यक्ष दिपक विष्टले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि कानूनी सचेतना गर्नु जरुरी रहेको वताएका छन् । उनले यसका लागि ललितपुर बारले निशुल्क रुपमा कानूनी सहायता उपलब्ध गराउन सक्ने समेत स्पष्ट पारेका छन् । यसका लागि सरोकारवालाहरुको पहल आवश्यक रहेको उनको भनाई छ ।

ललितपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले अगामी दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समेटेर नीती तथा योजनाहरु तय गर्ने वताएका छन् । उनले भने, ‘बालकुमारीमा आफ्रनै जग्गामा बन्ने संघको कार्यालयलाई अपाङ्गतामैत्री वनाउने छौं, व्यापार मेलाहरु सञ्चालन गर्दा अपाङ्गतामैत्री वनाउने छौं । एउटा स्टल निशुल्क स्टल उपलब्ध गराउने छौं ।