श्रमिकका समस्यामा आएन कमी

काठमाडौं, मंसिर २० । श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकका लागि आफुले कमाएको सम्पति भन्दा प्यारो केही नहुँन सक्छ । तर त्यही श्रममाथि सैले खेलवाड गर्छ भने सो कुरा उसलाई कहिल्लै मान्य नहुन सक्छ । आफुले पाउनु पर्ने श्रम गरे वापतको रकम समयसिमा भित्र नपाउँदा धेरै श्रमिक मारमा पर्ने गरेका छन् । यस्तै होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन ।

श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ रहेको छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका थिए । श्रमिकका समस्या जस्ताको तस्तै रहेको भन्दै यस्ता समस्याको न्युनिकरणका लागि सक्दो पहल हुनपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको जानकारी गराएका थिए । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएका कारण उनीहरुका समस्या के छन् भन्ने कुरा लकाइएको हुन सक्ने उनको भनाई थियो ।

श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएकाले उनीहरुले वास्तविकतालाई लुकाएर ढाक छोप गर्ने गरेको बताउँदै उनले भने, त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् । सोही क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गरेका थिए । उनले होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन भएका घटनाहरु प्रसस्त रहेको बताएका थिए ।

त्यस्तै विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा कार्यरत सबै संस्थाले ‘म फलानो होटल, रेष्टुराँमा काम गर्छु’ भनेर गर्व गरेर भन्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटीले दर्ता हुन बाँकी रहेका होटल, रेष्टुराँलाई दर्ता गराउँदै करको दायरामा ल्याउन संघले पहल गरिरहेको स्पष्ट पारेका थिए ।