नेपाली धावक गोपिचन्द्र पार्कीले हात पारे स्वर्णपदक

काठमाडौं, मंसिर २० । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हात पार्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका हुन् । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो ।

यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरेका छन् ।

रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्न सफल भएका थिए । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पार्न सफल भए ।