आजबाट दुई चलचित्रको भिडन्त

हरेक शुक्रबार नयाँ नेपाली चलचित्रका लागि अवसर र चुनौती दुबै हुने गर्दछ । प्राय जसो नेपाली चलचित्र शुक्रबार नै हलहलमा रिलिज हुने गर्दछन् । आजबाट फरक जनरामा निर्माण भएका दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल गुरुङको निर्देशनमा तयार भएको क्राइम(कमेडी फिल्म ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी चलचित्र ‘माया पिरिम’ ले आजबाट प्रदर्शनका लागि हलहलमा पुगेका छन् ।

चलचित्र ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्र राम्रो निर्माण गरे मात्र व्यापार पनि राम्रो हुन्छ भन्ने पाठ चलचित्रकर्मीहरुले बुझि सकेको हुनुन पर्दछ । गत असोज अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ पछि कुनै चलचित्रले हलमा दर्शक तान्न नसकेको अवस्थामा यो चलचित्रले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चलायमान बनाउने अपेक्षा लिइएको छ ।

चलचित्र राम्रोसँग चल्नका लागि चलचित्रमा आवश्यक पर्ने एक कुराको मात्र कमी भई दियो भने उक्त चलचित्रलाई आफ्नो लागानी उठाउन हम्मे पर्ने गर्दछ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह(निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेका छन् ।

उक्त चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । दयाहाङ अतिथीको भूमिकामा यस चलचित्रमा देख्न सकिन्छ । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा चलचित्र आधारित छ । सो चलचित्र शिवराम श्रेष्ठले खिचेका हुन् ।

त्यस्तै, ‘माया पिरिम’ मा अभिनेता कोशिश क्षेत्री र नव(अभिनेत्री किरण चन्द प्रमुख भूमिकामा देख्न सकिन्छ । चलचित्रका कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल हुन् । प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल सह—निर्माता रहेको चलचित्रमा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । यस चलचित्र निरज कँडेलले खिचेका हुन् ।