पुस १० देखि हात्ती महोत्सव हुने

चितवन, मंसिर २० । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्नका लागि पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव हुने भएको छ । छ दिनसम्म सञ्चालन हुने उक्त महोत्सव १६ औँ संस्करण हो ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै विशेष रुपमा महोत्सवबाटै नयाँ बर्ष र पर्यटन बर्षको स्वागत गरिने तयारी भएको जनाइएको छ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुने जानकारी गराएका छन् ।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन् । उनले महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको बताएका छन् ।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ । नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरुको संख्या कम हुने गर्दछ । नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गर्ने गरिएको आयोजकको भनाई छ ।