अलपत्र सडकको पचासी वर्षपछि निर्माण शुरु

काठमाडौं, मंसिर २५ । भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने लामो समयको पर्खाइ पनि काम शुरु भएको छ । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको हो ।

विसं १९९१ मा जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलिए पनि अलपत्र परी झाडीमा परिणत भएको उक्त सडकको साँगाबाट पुनःनिर्माण कार्यलाई तिव्रता दिइएको हो । पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा उक्त सडकको निर्माण कार्य शुरु भएको छ । प्रतिनिधिसभा सदस्य बस्नेतले जुद्ध शमशेरको पालमा निर्माण कार्य अघि बढाइए पनि अलपत्र अवस्थामा छाडिएको उक्त सडक यतिका वर्षसम्म अलपत्र नै रहनुमा राज्यको ठूलो कम्जोरी रहेको औंल्याएका छन् ।

उनले भने, ८५ वर्ष पछि मात्र उक्त कामको थालनी हुनु सुखद पक्ष हो, हाम्रो पहलमा बल्ल यो सडकले पूर्णता पाउने काम शुरु भएको छ, यो सडक निर्माणसँगै साँगादेखि जोरपाटीसम्म वैकल्पिक सडकको रुपमा समेत प्रयोग गर्न सकिने छ । उनले अरनिको राजमार्ग जोड्ने उक्त सडक आठ मिटर चौडाइ र १.५ किलोमिटर नालीसहितको सडकको निर्माण तथा स्तरोन्नतिको कार्य भइरहेको जानकारी गराएका छन् ।

पुनःनिर्माण प्राधिकरणको रु एक करोड ५० लाखको लागतमा निर्माण भइरहेको उक्त सडक अबको केही महिनामा मै सम्पन्न भई पूर्णरुपमा सञ्चालनमा आउने भएको उनको भनाई छ । उक्त सडकको निर्माण सम्पन्न भएपछि काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा हुने सवारी जाम तथा दुर्घटना न्यूनीकरण हुने विश्वासका साथ काम अघि बढाइएको उनले सुनाए ।