आज एक बजेबाट कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने भएको छ । आज साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्नका लागि बस्ने भएको हो ।

उक्त बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज हुने बैठकमा माथि उल्लेखित बुँदा बाहेक केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने छ । कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्था छ ।

विधानमा २८ विभाग रहने व्यवस्था गरिएको छ भने केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्थासमेत उल्लेख गरिएको छ । यसैगरी बैठकमा समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको भ्रातृ तथा शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताएका छन् ।

पार्टीका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भएर तहसनहश अवस्थामा गुज्रिरहेका छन् ।

त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये नेपाल प्रेस युनियन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, वन प्राविधिक संघ, कुमाल संघ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

भातृ तथा शुभेच्छुक संस्थाहरुको थप गरिएको समयावधि सकिदा समेत निर्वाचन हुने छाटकाँट देखिएको छैन । पार्टी नेतृत्वको चरम लापर्वाहीका कारण पनि भातृ तथा शुभेच्छुक संस्थामा मनपरितन्त्र मौलाउँदै आएको जानकारकहरु बताउँछन् ।