हुम्लामा हिमपातका कारण जनजीवन कष्टकर बन्दै

सिमकोट, मंसिर २६ । दोस्रो पटक हिमपात हुँदा हुम्लामा दैनिक जीवनयापन गर्नका लागि निकै कष्टकर भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली भेगमा बिहीबार बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको जनाइएको छ ।

बिहानैदेखि भएको हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान पनि बन्द रहेको सिमकोट विमानस्थल बन्द हुँदा असहज भएको स्रोतको भनाई छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको जनाइएको छ ।

हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेको त्यहाँका स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो अत्यधिक बढेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको छ ।

सो स्थानको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको प्रहरी कार्यलयले जानकारी गराएको छ । हिमपातका कारण नियमित रुपमा पठनपाठन गर्न बालबालिकालाई असहज भएको छ । हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून रहेको बताइएको छ ।