मेलम्चीको भुक्तानी अझै टुङ्गो लागेन

काठमाडौं, मंसिर २६ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने जाानकारी गराएका छन् । भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको उनको भनाई छ ।

उनले भने, त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ । सिएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । प्रवक्ता शाक्यले कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको बताएका छन् ।

कम्पनी निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको छ ।