भक्तपुर, मंसिर २७ । महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकार भएका निकायको भूमिका महत्वपूर्ण हुने जानकारी गराएका छन् ।
उनले महालेखा परीक्षकको कार्यालय र इन्टरनेशनल बजेट पार्टनरसिपको संयुक्त आयोजनामा ‘लेखापरीक्षण जवाफदेहिता अभिवृद्धि’ विषयक दुईदिने कार्यक्रमको समापन समारोहमा बोल्दै सुझाव कार्यान्वयन नहुँदा प्रत्येक वर्ष त्यसलाई दोहो¥याउने काममात्र भइरहेको बताएका छन् ।
सोही क्रममा महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बजेटकोे अनुशासन कायम राख्न सामाजिक परीक्षण गर्ने विधिलाई संस्थागत गरिनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तहमा केन्द्र र प्रदेशमा जस्तो व्यवस्थापिका र कार्यपालिका फरक नभएकाले बजेटको अनुशासन कम भइरहेको देखिएको जनाएका छन् ।
त्यस्तै उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले भूकम्पपश्चात्को पुनःनिर्माणको लेखापरीक्षण र सोको प्रमुख तथ्य र सुझावसम्बन्धी प्रस्तुति गरेका थिए ।
अर्जेन्टिना र घानालगायत देशका सर्वोच्च लेखापरीक्षण संस्था, नागरिक समाज, सञ्चारमाध्यमका प्रतिनिधि गरी ६० जना सहभागी कार्यक्रममा विभिन्न देशका प्रतिनिधिले आफ्नो देशमा नागरिक सहभागितामूलक लेखापरीक्षण र लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन अवस्था तथा चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा समूह छलफलका माध्यमबाट सहभागीबीच अनुभव आदानप्रदान गरिएको थियो ।