प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन गृहमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर २७ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा प्रहरी कर्तव्यपथबाट विचलिन हुनु नहुनेमा जोड दिएका छन् ।

गृहमन्त्री थापाले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको औंल्याएका छन् । प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ भन्दै गृहमन्त्री थापाले राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीहरुलाई छैन नभएको स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु नै रहेको बताएका छन् । प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने स्पष्ट पारेका छन् ।

कानून कार्यान्वयनकर्ताका रूपमा छनोट भएर आएका प्रहरीले सङ्गठनको भावनाअनुसार काम गर्नेमा आफु विश्वस्त रहेको उनले सुनाए । गृहमन्त्री थापाले कार्यक्षेत्रमा पुगेर क्षमतालाई थप परिष्कृत गर्दै राष्ट्रलाई लगानीको उचित प्रतिफल दिने अपेक्षा रहेको जनाएका छन् । प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्नका लागि गृहमन्त्री थापाले निर्देशन दिएका छन् ।

उनले अठार महिना लामो प्रक्षिणबाट प्राप्त सैद्धान्तिक र व्यावहारिक ज्ञानले समस्या पहिचान र त्यसको समाधानमा अब्बल भई शान्ति सुरक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन् । गृहमन्त्री थापाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई राज्यप्रतिको विश्वासमा कमी हुन नदिन आग्रह गर्दै प्रहरीले परिस्थितिअनुसार काम गर्नु पर्नेमा जोड दिएका छन् ।

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले आपराधिक समुहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिमबाट नौ महिलासहित ९१ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।