विराटनगर, मंसिर २९ । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।
मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जनाएका छन् ।
सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषिका कविकवयत्रीलाई सम्मान गरिने छ । मैथिली एशोसिएशन नेपालका सल्लाहकार पङ्कज बर्माले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटन स्थलहरुको समेत प्रचारप्रसार गरिने जानकारी गराएका छन् ।
उनले सम्मेलनको अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका विभिन्न २० वटा कक्ष राखिने बताएका छन् । सम्मेलनका लागि रु २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।