वीरगञ्ज, पौष १ । वीरगञ्ज महानगरपालिका वडा नं ५ मा नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको छन् । एउटा सरकारी कार्यालय दुई जना कर्मचारीको भरमा छाडिएको छ जसले सबै काम गर्ने जिम्मा समेत पाएका छन् । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै रहेका छन् ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । कार्यालय प्रमुख रत्नकान्त झाका अनुसार एक वर्षअघि खुलेको सो कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न समस्या हुने गरेको भन्दै सरकारले सो कुरामा वेवास्ता गरेको छ ।
उक्त कार्यालयका प्राविधिक सहायक श्रवणकुमार साहले खाद्य सुरक्षा तथा गुणस्तरलाई पोषणसँग जोड्न खोलिएको सो कार्यालयले बजारमा बिक्रीका लागि राखिने खाद्यवस्तुको नमूना सङ्कलन गरी जाँचका लागि जनकपुरधाम पठाए पनि लामो समयसम्म परिणाम नआउँदा काम प्रभावित हुने गरेको जानकारी गराएका छन् ।
सो कार्यालयमा प्रमुख र प्राविधिक सहायक गरी दुई जना मात्रै कर्मचारी रहेका छन् । अन्य कर्मचारीले गर्नुपर्ने काम पनि आफैले गर्नुपर्दा विभिन्न सक्मस्या आई परेको उनीहरु बताउँछन् ।