कञ्चनपुर, पौष १ । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको संख्यामा वृद्धि हँुदै गएको पाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले सो क्षेत्रमा चराका प्रजातिको संख्यामा वृद्धि भइ रहेको जानकारी गराएका छन् ।
सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको उनले सुनाए । उनका अनुसार प्रजातिको संख्या ४५० पुगेको छ । सन् २०१२को गणनामा ४२४ प्रजातिका चरा रहेको पाइएको थियो । उनले नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत सो क्षेत्रमा पाइने जनाएका छन् ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु सो स्थानका आकर्षणको रुपमा लिइएको छ । सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ ।
नेपालमा ८८७ प्रजातिका चरा रहेका वताइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका छन् । भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ ।