ललितपुर महानगर साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार : नगरप्रमुख महर्जन

ललितपुर, पौष १,  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर नै नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार भएको वताएका छन् । आज मंगलबार ललितपुर महानगरमा आयोजित साइकल ऐन बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियामा नगरप्रमुख महर्जनले यस्तो वताएका हुन् । नगरप्रमुख महर्जनले भने, ’नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार नै ललितपुर महानगर हो, तसर्थ हामी संघीय सरकार र प्रदेश सरकारको कानूनसंग नबाँझिने गरी ऐन, कानून बनाउछौं “

नगरप्रमुख महर्जनले साइकल चड्नेहरुलाई प्रोत्साहन नगर्ने हो भने समस्या पर्ने भन्दै यसका लागि पनि ललितपुर महानगरले आवश्यक योजना बनाएर अगाडि बढ्ने वताए । नगरप्रमुख महर्जनले भने, “ साइकल लेन र साइकल ऐनको विषयमा नेपाल सरकार र प्रदेश सरकारले सोच्न पनि सकेको छैन । तसर्थ मैले उपत्यका मेयर फोरममा पनि यस विषयमा कुरा उठाएको छु, यसका लागि छिमेकी नगरपालिका र गाउँपालिकालाई पनि आकर्षित गर्ने प्रयत्न गर्नेछौं।“
नगरप्रमुख महर्जनले नगर यातायात सञ्चालन सम्बन्धि मास्टर प्लान लागू गर्न गैरहेको समेत जानकारी गराए ।
ललितपुर महानगरले ऐन,कानून, नीति तथा योजनाहरु वनाउँदा पहिला पैदल यात्री र दोस्रोमा साइकल यात्रीलाई सहज र प्रोत्साहन पुग्नेगरी बनाउने वताए ।

युएन ह्याविटासका प्रतिनिधि पद्मसुन्दर जोशीले सहरीसडकहरुको मापदण्ड अनुसार ऐन निर्माण गर्न जोड दिनुपर्ने वताए । उनले भने,“यसका लागि पहल कदमी आवश्यक छ। साइकल पार्किङ स्टेशनको व्यवस्था गर्न पहल र साइकल यात्रीको विमाको पनि व्यवस्था गर्नुपर्दछ।“

विश्व साइकल यात्री पुष्कर शाहले काठमाडौं आफैमा साइकलमैत्री शहर भएको वताउँदै भने, “साइकल सुरक्षित साधन हो, यातायातका अरु साधनका कारण असुरक्षित भएको हो । एक दिन साइकल मात्रै प्रयोग गर्दा १२ लाख लिटर डिजेल र पेट्रोल बचत हुन्छ र त्यसबाट उत्सर्जन हुने कार्वन कम गर्न सकिन्छ ।“

महानगरका संस्कृति संरक्षण केन्द्रका प्रमुख(उपसचिव) सहजीत राईले सबैको सुझाव लिएर मस्यौदा तयार गर्नुपर्ने, साइकल लेनको औचित्यतालाई प्रस्तावनामा समेटिनु पर्ने, ट्राफिकलाई प्रोत्साहन र जरिवाना ऐन मै व्यवस्था गर्नुपर्ने र साइकल ऐनका लागि कानूनविद्हरुसंग गहन छलफल गर्नुपर्ने वताए ।

मार्टिन चौतारीकी उषा तितिक्षुले साइकललाई प्रोत्साहन गर्दा महंगी जीवनशैली निरुत्साहित हुने वताइन् । उनले साइकल लेनको प्रोत्साहन गर्नका लागि नेपालको यातायात सम्बन्धि ऐन नै परिवर्तन हुनु आवश्यक भएको वताइन्।

साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले सबैस्थानमा २० वडा साइकल अट्ने साइकल पार्किङ स्टेसन बनाउनु पर्ने वताए । साइकल व्यवसायी दिरेक मानन्धर साइकल यात्रीहरुलाई प्रोत्साहनका लागि हप्तामा एक दिन साइकल चडेरै कार्यालय आउने व्यवस्था मिलाउनु पर्ने, ट्याक्स छुट दिएर पनि प्रोत्साहन गर्न सकिने वताए । उनले भने ’एशियाको सबैभन्दा बढि साइकल फ्रेन्डली सहर बन्ने अवसर ललितपुरसंग छ।“  साइकल यात्रीको सुरक्षालाई ध्यान दिएर ऐन बनाउनु पर्ने कुरामा सरोकारवालाहरुको जोड थियो ।

साइकल ऐन बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियामा फिलिपिन्सको साइकल ऐनको विषय वस्तुलाई पनि समेटिएको थियो । अन्तरक्रियामा सहभागीहरुले डेडिकेटेड साइकल लेन र शेयर लेनका विषयमा के कस्तो व्यवस्था हुने र जरिवाना के कति हुने? भन्ने विषयमा ऐनमा स्पष्ट व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएका थिए ।