कहिले अन्त्य होला त दुर्घटनाको भयावह !

जानुका बराल

काठमाडौं, पुस ३ । दिनहुँ जसो घट्ने दुर्घटना र त्यसबाट अकालमा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका व्यक्तिहरुले सरकारको पहलमा थोर बहुत राहत त पाउलान तर ज्यान गुमाएका परिवारले उनीहरुको पारिवारीक सदस्य कहाँ पाउने ? साथै अङ्गभङ्ग भएका व्यक्तिहरुले जविन भरी पाएको पिडाको महसुस कस्ले गर्ने ? यही साता मात्र पनि सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस कहाली लाग्दो तरीकाले दुर्घटना भयो । उक्त दुर्घटनामा परि १५ जनाले अकालमा नै ज्यान गुमाउनु पर्यो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाका अनुसार मुुलुकमा सवारी दुुर्घटनाबाट वार्षिकरुपमा २ हजारको संख्यामा नागरिकले अकालमा ज्यान गुुमाउनु परिरहेको छ । उक्त घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन समेत कुड्याएको सबैले महशुस गरे । उनले उक्त घटना घटे पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई सडक दूर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागु गर्न निर्देशन दिए । पछिल्लो समय सडक दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले तत्काल निर्देशन दिए तर उनले दिएको निर्देशन बमोजिम काम भएको छ कि छैनभनेर हेर्ने जिम्मा कस्को त ? प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका थिए ।

सरकारले दिइने यस्ता निर्देशन भन्दा पनि स्थलगत अवलोकन र घटना हुनुको कारण पहिचान गरि दोषीलाई कडा भन्दा कडा कार्वाही भए मात्र दुर्घटनामा न्युनिकरण आउने थियो होला । सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खवर प्रधानमन्त्री ओलीले सो घटनाका कारणले आफु खाना खान र सुत्न पनि नसकेको सुनाए । उनको मनमा त्यति धेरै पिडा हुनु त स्वभाविक नै थियो तर उनी भन्दा बढि त ती बालकका परिवारका अन्य सदस्यहरुको अवस्था कस्तो थियो होला त सरकार ! निर्दोश ती बच्चाले आफ्नो आमा गुमाए उनका परिवारका अन्य सदस्यले परिवारको एक सदस्य गुमाउँदाको पिडा पनि त्याहाँ कम थिएन् । यस्ता दूर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति हुनुका साथै कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना के बनायो त सरकारले ? सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने गरेको छ । सवारी चालकको चरम लापर्वाहीका कारण नै धेरै जसो दुर्घटना भएका छन् ।

चालकलाई यात्रुको भन्दा माया पैसाको माया बढि लाग्ने भएकाले यस्ता घटनामा कमी हुन सकेको छैन । सिटमा भन्दा उभिने यात्रुको चाप गाडीमा बढि हुने गर्दछ । सरकारका जिम्मेवार व्यक्तिहरुबाट नै निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सवारी चलाउनका लागि अनुमति दिइन्छ यसमा प्रहरी प्रशासन समेत रमिते बनिदिँदा दुर्घटनामा न्युनिकरण हुनै सक्दैन । चालकको क्षमता परीक्षण नगरी नक्कली होस् या सक्कली होस् त्यही लाइसेन्सलाई मात्र हेर्ने गरिन्छ । सवारी चलाउँदा चालकले पालना गर्नुपर्ने कुराहरु कतिको पालना गरेको छ भन्ने कुरा प्रति कसैको चासो नजानु दुर्घटनाको मुख्य कारण हो ।

प्रधानमन्त्रीको चासो र पिडितहरुको गुनासोलाई मध्यनजर गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियानको मंगलबारबाट थालनी गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुुरु गरेको जनाएको छ ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वासका साथ सो अभियानको थालनी गरेको स्पष्ट पारेको छ । उक्त अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर विरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल÷कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाउँदै दुर्घटना न्युनिकरणका लागि जति सक्दो वढि जनचेतना फैलाउने भनिएको छ । महाशाखा माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने योजना महासाखाको योजना रहेको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने योजना रहेको जानकारी गराएका छन् । अभियानको शुुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले मुुलुकमा सडक सुरक्षा न्यूूनीकरणका लागि १२ वटा विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी गराएका छन् । नियम उलङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका गाउँले भन्दा पढे लेखेका शहरियाबाटै सडक अनुशासन उलङ्घनका घटना बढी हुँदै आएको स्पष्ट पारिएको छ । यस आर्थिक वर्षको ५ महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै सवारी दुुर्घटनामा परी ७६ जनाको अकालमा नै ज्यान गुमाएका छन् ।

सडक लेन अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ । प्रधानमन्त्रीको निर्देशन र त्यस पछि काठमाडौं महानगरीय प्रहरी कार्यालयले देखाएको यो तदारुक्तताको प्रशंसा त्यति बेला गरौला जुन बेला दुर्घटनाका काराण कसैले अकालमा ज्यान गुमाउनु नपरोस् । महानगरीय प्रहरी कार्यालयले योजना बनाए अनुसार सबै वर्गलाई उज्यालो अभियानले समेट्न सकोस् ।

तीन महिने ट्राफिकको उज्यालो अभियानले अवदेखि अबोध बालबालिका टुहुरा हुन नपरोस् । घरबाट बाहिर यात्रामा निस्किएका आफ्ना परिवारका सदस्यहरु सकुशल घर आई पुग्लान की नआउलान भन्ने मनको त्रास सधैका लागि अन्त्य होस् । सरकार र सरोकारवाला निकायले देखाएको यो चासोलाई सार्थक बनाउनका लागि सबैले साथ दिँदै दुर्घटना न्युनिकरणका लागि पहल गरौं ।