काठमाडौं, पुस ६ । नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम दिन प्रति दिन मौलाउँदै गएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याएका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा राजधानीमा आयोजना गरिएको ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा अर्थमन्त्री डा खतिवडाले त्यस्ता नक्कली गतिविधिलाई लेखापरीक्षकले सही प्रमाणित गरेको तर्फ ध्यानाकर्षण गराएका थिए ।
डा खतिवडाले भने, “कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष होे । व्यावसायिक कारोवारलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्दा बढी व्यवस्थित र पारदर्शी हुने भएकाले सरकराले विद्युतीय प्रणालीलाई जोड दिएको अर्थमन्त्री खतिवडाको भनाई थियो ।
सरकार आर्थिक ऐनमा कर प्रशासकको स्वच्छता र स्वेच्छिक निर्णय गर्न सक्ने अधिकार थप्नेक्रममा लागेको छ भन्दै मन्त्री डा खतिवडाले खर्च गर्ने अधिकारीको जवाफदेहितालाई वित्तीय उत्तरादायित्व ऐनले स्पष्ट उल्लेख गरेको र केही वित्तीय क्षेत्रको नियामक कानून बनाउने चरणमा रहेको जानकारी गराएका थिए । नक्कली कम्पनी बनाएर प्रविधिको दुरुपयोग गरी नक्कली गतिविधि बढ्दै गएको तर्फ सचेत हुन आग्रह गर्दै उनले व्यक्तिले व्यावसायिक आचरणलाई मात्रै नहेरी सामाजिक आचरणलाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
आर्थिक पारदर्शिता र सुशासन कायम गर्न नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा, धितोपत्र र कम्पनीलगायत ऐन संशोधन प्रक्रिया अघि बढेको स्पष्ट पार्दै उनले हिउँदे अधिवेशनमा धेरै स्वीकृत भएर आउने विश्वास व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले आयोगमा एक हजार ६०० भन्दा बढी मुद्दा अनुसन्धानको चरणमा रहेको जानकारी दिँदै चालू आवमा अहिलेसम्मकै सबैभन्दा बढी मुद्दा दर्ता हुने देखिएको जनाएका छन् ।
उनले भने, “नियामक निकायले राम्रोसँग हेरे मातहतका निकायमा हुने भ्रष्टाचार र जालसाँजी रोक्न सकिन्छ, यसतर्फ चनाखो हुनुपर्छ । अन्तक्र्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण कुरा आफ्नो आचारण भएको प्रष्ट पार्दै पहिले आफूबाटै सुधार हुनुपर्नेमा जोड दिएका छन् ।