मन्त्री भट्टराईद्वारा ओखलढुङ्गाको चण्डेश्वरीमा विमानस्थल उद्घाटन

ओखलढुङ्गा, पुस ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन नै भएको प्रष्ट पारेका छन् । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिनेमा जोड दिएका छन् । उनले देश समृद्धि बनाउनका लागि चाहिने पहिलो आधार भनेकै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको जानकारी गराएका छन् ।

चण्डेश्वरी विमानस्थलमा सोमबार तारा एयरको विमानमार्फत परीक्षण उडान गरिएको छ । काम शुरु भएको १३ वर्षपछि बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकेर परीक्षण उडान गरिएको हो । अहिलेको सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले भने, त्यो अभियानमा छिटो पुग्ने माध्यम भनेको पर्यटन हो । भ्रमण वर्ष २०२० ले केही सफलताका सङ्केतहरु देखाउनेछ । सरकारले सय गन्तव्य घोषणा गरेर केही पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जुटेको स्पष्ट पार्दै उनले संघ, प्रदेश र स्थानीय सरकार सबैले पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

ओखलढुङ्गा जिल्लाका सांसदसहितका जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग केहीबेर अनौपचारिक अन्तरक्रियासमेत गर्न भ्याएका मन्त्री भट्टराईले ओखलढुङ्गा जिल्ला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको जिल्लाका रुपमा लिइएको बताउँदै पर्यटन प्रवद्र्धनका योजना अघि सार्न सरोकारवाला सबैलाई सुझाव दिएका थिए ।

उनले चण्डेश्वरी विमानस्थललाई नियमित गर्न आग्रह गर्दै भने, योजनाअघि सार्नुस् सरकारले पर्यटन विकास र प्रवद्र्धन गर्छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रलाई गन्तव्य सूचीमा राखिएको छ । विश्व समुदायलाई ल्याऔँ, हाम्रा गाउँ ठाउँका मनोरम दृश्यहरु देखाऔँँ ।  मन्त्री भट्टराईले ओखलढुङ्गाको रुम्जाटार र चण्डेश्वरी दुवै विमानस्थलमा नियमित उडान गर्नका लागि आफुलेृ सक्दो पहल गर्ने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै सांसद यज्ञराज सुनुवारले चण्डेश्वरी विमानस्थल सञ्चालनमा आएपछि ओखलढुङ्गाका सबै गाउँ सुगम भएको बताएका थिए । उनले जिल्लाको पर्यटन प्रवद्र्धनमा अहिलेका सबै जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु जुटेको जानकारी गराएका थिए । सांसद सुनुवारले ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रहरु पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास गरिने कुरामा कुनै दुविधा नरहेको स्पष्ट पारेका थिए ।

त्यस्तै पूर्वसांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले आफ्नो पार्टीका ठेकेदार भएकै कारण आलोचना बढेपछि आफैँले पहल गरेर विमानस्थल निर्माणको काम सक्न दबाब दिएको बताएका छन् । उनले चण्डेश्वरी विमानस्थलमा नियमित उडान गर्नका लागि आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उक्त विमानस्थललाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका थिए । नेता खतिवडाले सरकारका मन्त्री र सांसदहरु चर्चा कमाउने काममा मात्रै लागिपरेको आररोप समेत लगाएका छन् । उनले सरकारले जनताले महसुस गर्ने गरी काम गर्न नसकेको प्रष्ट पार्दै जन भावना अनुरुप सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

गाउँमा विमान पुगेपछि स्थानीयवासी खुशी भएका छन् । सगरमाथा आरोही पेम्बा शेर्पाले पर्यटनको प्रचुर सम्भावना भएको ठाउँमा विमान आइपुग्नु आफैँमा हर्षको विषय भएको बताएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरसाथमा हेर्न आउने विदेशी नागरिकलाई समेत चण्डेश्वरी विमानस्थलबाट लैजाँदा सहज र सस्तो हुने बताएका छन् । अहिलेसम्मको अवस्थामा सो क्षेत्रका मानिसहरु सहज यातायातको सुविधा नहुँदा आपत्कालीन आवस्थामा लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गरी आफ्ना समस्या सामधान गर्न बाध्य छन् । ढिलै भए पनि आफ्नो क्षेत्रमा विमानस्थल बन्दा यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

उक्त विमानस्थल आव २०६३÷६४ मा निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आव २०६९÷७० बाट विमानस्थलको जग्गा सम्याउने काम शुरु भएको थियो । आयोजना प्रमुख एवम् नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर विनायक भट्टराईले विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन र अस्थायी टावरघरको निर्माण सम्पन्न भएपछि उडान गरिएको बताएका छन् । विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्धा्रित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ । केही दिनअघिमात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो । ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित रु दुई करोड पाँच लाख ३३ हजार ७४० मा ठेक्का लागेको थियो । ५८० मिटर लम्बाइ र चौडाइ विमानस्थलको रनवे ग्राभेल गरिएको छ ।

कूल ६५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिनेछ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोष्ट लगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तरोन्नतिको काम पनि बाँकी रहेको छ ।